१. "नेपाल विविधतामा एकता भएको मुलुक हो" पुष्टि गर्नुहोस्।
उत्तरः - नेपाल विविधताले भरिएको देश हो। यहाँ धार्मिक, साँस्कृतिक, भाषिक, जातीय, लैङ्गिक, भौगोलिक लगायत विविध विविधताहरू छन् । यहाँका मानिसहरू हिन्दु, बौद्ध, मुस्लिम, किराँत, क्रिश्चियन लगायत १० भन्दा बढी धर्महरू मान्दछन्। सबै धर्म जातिहरूका आ-आफ्नै फरक फरक संस्कृतिहरू छन् । भाषा आयोगका अनुसार हाल नेपालमा १२३ भन्दा बढी भाषाहरू बोलिन्छन् । विभिन्न जातिहरूको बसोबास रहेको छ। पृथ्वी नारायण शाहले नेपाललाई ४ वर्ण छत्तिस जातको फुलबारी भनेका छन्। यहाँ बाहुन, क्षेत्री, राई, लिम्बू, तामाङ, मगर, थारु लगायतका धेरै जातजातिहरूको बसोबास छ। फरक फरक धर्म अनुसार फरक फरक चाडपर्वहरू छन्। यहाँ दशै, तिहार, छठ, ल्होसार, उधौली पर्व, संक्रान्ति लगायत विभिन्न चाडपर्वहरू मनाइन्छ। भौलिक हिसाबले पनि नेपाल हिमाल, पहाड र तराई गरी विषम विविधता पाइन्छ। अत्यन्तै ठण्डादेखि अत्यन्तै गर्मी हावापानी पाइन्छ। यसरी नेपाल विविधतायुक्त धनी देश हो।
विविधताले भरिएको देश भएपनि नेपाल एकता भएको मूलुक हो। नेपालमा उच्च धार्मिक सहिष्णुता कायम छ। यहाँ विभिन्न धर्म मान्ने मानिसहरू भएपनि एकले अर्काको आस्थालाई सम्मान गर्छन्। भाषिक विविधता भएपनि सम्पर्क भाषाको रुपमा नेपाली भाषालाई साझा भाषाको रुपमा प्रयोग गरिएको छ भने आफ्नो मातृभाषाको प्रयोग, संरक्षण र सम्बर्द्धन गर्न राज्यले जोड दिएको छ। जातीय विविधता भएपनि आजसम्म कुनै पनि जातीय, धार्मिक हिंसा भएको छैन। विविन्न धर्मका चाडपर्व सबैले मनाएर एकअर्काप्रति सद्भाव कायम छ। फरक फरक संस्कृति, भाषा, पहिचान देशको अमूल्य सम्पत्ति मानी सबैले यसको जगेर्ना गर्न जोड दिएको पाइन्छ। यसर्थ उल्लेखित तथ्यहरूबाट नेपाल विविधतामा एकता भएको मुलुक हो भनी पुष्टी गर्न सकिन्छ।